Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हानपास रेमिट्यान्सको २ करोड वन प्रारम्भिक सहयोग, प्रत्येक कारोबारबापत थप १ हजार वन राहत कोषमा

हानपास रेमिट्यान्सको २ करोड वन प्रारम्भिक सहयोग, प्रत्येक कारोबारबापत थप १ हजार वन राहत कोषमा

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • सौल, दक्षिण कोरिया। नेपालमा हालै आएको भीषण प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण कोरियामा कार्यरत हानपास रेमिट्यान्सले राहत अभियानअन्तर्गत प्रारम्भिक चरणमा २ करोड कोरियन वन सहयोग गर्ने भएको छ।

    हानपासले यही अभियानअन्तर्गत अगस्ट २७ देखि सेप्टेम्बर ६, २०२६ सम्म हुने प्रत्येक कारोबारबापत आफ्नै तर्फबाट थप १ हजार कोरियन वन राहत कोषमा जम्मा गर्ने जनाएको छ। यसका लागि ग्राहकबाट कुनै अतिरिक्त रकम वा शुल्क लिइने छैन।

    हानपासका व्यवस्थापक सन्तोष खड्काको पहलमा सुरु गरिएको यो अभियानबाट संकलन हुने रकम दक्षिण कोरियास्थित नेपाली राजदूतावासको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताइएको छ।

    खड्काका अनुसार २ करोड वनको सहयोग राहत अभियानको प्रारम्भिक सहयोग मात्र हो। प्रत्येक कारोबारबापत १ हजार वनका दरले थप रकम राहत कोषमा जम्मा हुने भएकाले अभियानबाट संकलन हुने कुल सहयोग रकम अझ बढ्नेछ।

    खड्काले हानपासमा कार्यरत नेपाली कर्मचारी तथा नेपाल टिमका तर्फबाट मात्र नभई कम्पनीमा सँगै काम गर्ने कोरियन तथा अन्य विदेशी सहकर्मीहरूलाई समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष सहयोग गर्न आग्रह गरिएको बताए। उनका अनुसार सहयोगका लागि गरिएको आह्वानप्रति सहकर्मीहरूले पनि सकारात्मक प्रतिक्रिया दिँदै मन खोलेर सहयोग गरिरहेका छन्।

    ‘अहिले नगरे कहिले गर्नेरु हामीले नगरे कसले गर्नेरु’ भन्ने भावनाका साथ विपद्को कठिन अवस्थामा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न हानपास परिवार अघि बढेको खड्काले बताए।

    “देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो सहयोगले पनि देश र पीडित नागरिकका लागि ठूलो अर्थ राख्न सक्छ,” खड्काले भने, “त्यसैले आफूले चिनेजानेका कोरियन समुदायदेखि सम्पूर्ण विदेशी समुदायसम्म सहयोगका लागि आग्रह गरिरहेका छौँ।”

    उनले विपद्को यस कठिन घडीमा नेपाल र नेपालीका लागि सहयोग गर्ने दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।

    ग्राहकबाट अतिरिक्त शुल्क नलिइने

    हानपासका अनुसार अभियानमा सहभागी ग्राहकबाट राहत रकमका नाममा कुनै अतिरिक्त शुल्क लिइने छैन। ग्राहकले गर्ने कारोबारको रकम सानो होस् वा ठूलो, प्रत्येक कारोबारबापत हानपासले आफ्नै तर्फबाट १ हजार कोरियन वन राहत कोषमा जम्मा गर्नेछ।

    यसरी प्रारम्भिक रूपमा घोषणा गरिएको २ करोड वन र अभियान अवधिभर प्रत्येक कारोबारबाट जम्मा हुने १ हजार वनसमेत जोडिँदा दक्षिण कोरियाबाट रेमिट्यान्स कम्पनीहरूले घोषणा गरेका राहत सहयोगमध्ये हानपासको सहयोग उल्लेखनीय रूपमा ठूलो हुने अपेक्षा गरिएको छ।

    हानपासकी ग्राहक केन्द्रित प्रमुख भावना कार्कीका अनुसार अभियानमार्फत संकलन हुने सम्पूर्ण रकम दक्षिण कोरियास्थित नेपाली राजदूतावासको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

    उनले अभियानबाट संकलित कुल रकमसमेत पारदर्शी रूपमा सार्वजनिक गरिने बताइन्।

    ‘नेपालका लागि केही गर्न पाउँदा गर्व लागेको छ’

    प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेको अवस्थामा पीडित नागरिकको सहयोगका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हानपाससँग सहयोगको प्रस्ताव राखेर प्रक्रिया अघि बढाइएको खड्काले बताए।

    “नेपालका लागि सहयोग जुटाउने यो अभियानमा पहल गर्न पाएकोमा मलगायत सम्पूर्ण नेपाल टिम खुसी छौँ,” खड्काले भने।

    उनका अनुसार हानपासले विपद्को कठिन घडीमा नेपाली समुदायसँगै उभिएर सहयोग र ऐक्यबद्धताका लागि सबैलाई आह्वान गरेको छ।

    “हानपासले प्रारम्भिक चरणमै २ करोड वन सहयोग घोषणा गरेको छ। त्यससँगै अन्य सहयोगका प्याकेजसमेत ल्याएर नेपाल र नेपालीका लागि जति सक्दो धेरै सहयोग गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ,” खड्काले भने, “हानपास परिवारसँग जोडिएर नेपाल र नेपाली समुदायका लागि यस्तो काम गर्न पाउँदा हामीलाई गर्व लागेको छ।”

    हानपासले विपद्बाट प्रभावित नेपाली नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको यो अभियानमा दक्षिण कोरियामा रहेका नेपाली समुदाय तथा अन्य समुदायलाई समेत सहभागी हुन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार