काठमाडौं। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर अर्थात् टोल शुल्क संकलन सुरु गरिएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार फरक-फरक शुल्क दर निर्धारण गर्दै टोल संकलनको औपचारिक थालनी गरेको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले यसअघि नै सूचना जारी गर्दै आजदेखि सुरुङमार्गमा शुल्क लागू हुने स्पष्ट पारेको थियो। य
ससँगै काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्ने यस प्रमुख मार्गमा यात्रा गर्ने सवारीसाधनले अब तोकिएको मापदण्डअनुसार अनिवार्य रूपमा टोल तिर्नुपर्ने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम यो शुल्क प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई चारवटा मुख्य वर्गमा वर्गीकरण गरी टोल दर तय गरिएको छ। पहिलो वर्गमा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
त्यस्तै, दोस्रो वर्गका मिनीबस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरिएको छ। तेस्रो वर्गमा रहेका बस तथा सिंगल रियर एक्सेल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ।
चौथो तथा अन्तिम वर्गमा पर्ने मल्टी एक्सेल ट्रक, अन्य भारी सवारीसाधन तथा उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। यस चौथो वर्गमा प्रवेश र प्रस्थान शुल्कबीच सबैभन्दा बढी अन्तर रहेको छ।
सुरुङमार्गबाट काठमाडौं भित्रिने र बाहिरिने दिशाअनुसार शुल्कमा केही भिन्नا राखिएको छ। विशेषगरी ठूला तथा मालवाहक सवारीसाधनका लागि प्रवेशतर्फको शुल्क बाहिरिँतर्फको भन्दा बढी कायम गरिएको छ। हलुका सवारीसाधनको हकमा प्रवेश र प्रस्थान शुल्कमा जम्मा ५ रुपैयाँको मात्र अन्तर रहे पनि ठूला ट्रक तथा भारी उपकरणका हकमा भने प्रवेश शुल्क धेरै राखिएको छ।
नागढुंगा-नौबिसे सडकखण्डको अत्यधिक सवारी चाप र घुमाउरो बाटोको सास्ती तथा जोखिम कम गर्ने उद्देश्यले यो सुरुङमार्ग सञ्चालनमा ल्याइएको हो।
सुरुङमार्गको प्रयोगले यात्राको समय र इन्धन बचत हुने भए पनि अब सवारीधनी, सार्वजनिक यातायात सञ्चालक तथा मालवाहक व्यवसायीले आफ्नो दैनिक यात्रा वा ढुवानी लागतको हिसाब गर्दा यो टोल शुल्कलाई पनि समेट्नुपर्ने भएको छ।


