काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ।
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालि (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले आफ्नो विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित भाटभटेनीलाई उक्त गाडी हस्तान्तरण गरेको हो।
‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रममा दुवै संस्थाले वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गरेर व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको जनाएको छ। कम्पनीका अनुसार फोटोन TM1 विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयुक्त विकल्प बन्न सक्छ।
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनीजस्तो ठूलो तथा विश्वसनीय संस्थासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले १४ वटा फोटोन TM1 विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरणसमेत भएको उल्लेख गरे।
नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको उनको भनाइ थियो।
त्यसैगरी, भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकता दिँदै आएको बताए। फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यस किसिमका पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गर्ने बताए।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना विस्तार हुँदै गएको छ। सञ्चालन खर्च न्यूनीकरण र वातावरणीय प्रभाव कम गर्न विद्युतीय व्यावसायिक सवारीसाधन प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गएका छन्।
यस हस्तान्तरणसँगै फोटोन मोटर्स नेपालले नेपालको विद्युतीय व्यावसायिक सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप बलियो बनाएको जनाएको छ।


