Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

पाल्पाको तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

पाल्पाको तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

आर्थिक पत्र
शनिवार, कार्तिक १९ २०७९
  • रामपुर। पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडिओका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन्। 

    images

    आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुंगाबाट हुने आम्दानी पनि बढ्न थालेको छ। हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन। 

    फेवातालको झल्को दिने तालपोखरामा बेलाबखतमा परिवारसहित घुम्न आउने गरेको शौरभ सिं ठकुरीले बताए।

    ‘ताल वरपर घुम्दा निकै रमाइलो लाग्छ, यो मलाई फेवाताल जस्तै लाग्छ, प्रचारप्रसार गर्न सकियो भने यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ,’ उनले भने। 

    पछिल्लो डेढ महिनामा मात्र आन्तरिक पर्यटकबाट दुई लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए। उनका अनुसार दसैं र तिहारका अवसरमा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी टिकट बिक्रीबाट मात्रै भएको छ। 

    यहाँ रहेका पाँच वटा डुंगामध्ये दुई वटा काठका डुंगा नियमित सञ्चालन भइरहेका छन्।

    तीन वटा डुंगा बिग्रेर मर्मत गर्नुपर्ने अवस्थामा छन्। आन्तरिक पर्यटक बढेसँगै अब बिग्रिएका डुंगा मर्मत गरी पाँचवटै डुंगा चलाउने समितिको तयारी छ। हाँस आकारको डुंगा चढ्दा प्रतिव्यक्ति एक सय रुपैयाँ र काठको डुंगा चढ्दा प्रतिव्यक्ति ५० रुपैयाँ टिकट कायम गरिएको छ। यहाँ २०७४ माघदेखि डुंगा चलाउन सुरू गरिएको हो। यहाँ शनिबार र सार्वजनिक विदाका दिन, विशेष चाडपर्वमा आन्तरिक पर्यटकको खचाखच रहन्छ। 

    नियमित रूपमा हरेक समयमा व्यवस्थापन गर्न सकियो भने वार्षिक १५ लाख बराबरको कमाई गर्न सकिने समितिको अनुमान छ। सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा तालपोखरा नै घुम्न भनेर बाहिरबाट विभिन्न संघ संस्थाको समूह आउँदा यसले सकारात्मक सन्देश प्रवाह गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको भनाइ छ।

    ‘सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ, व्यापक प्रचारप्रसारले तालपोखराका कारण रामपुरलाई चिनाउने राम्रो अवसर मिलेको छ, यो एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा चिनिएको छ,’ उनले भने।
           
    तालपोखरमा दसैं, तिहार, माघेसंक्रान्ति, शिवरात्री, नयाँवर्षका अवसरमा ठूलो भिड लाग्छ। अन्य समय पनि परिवार, साथीभाइसहित ताल वरपर घुम्नेको उत्साह देखिन्छ। मनोरञ्जन गर्ने र आफन्त, साथीभाइ भेटघाट तथा घुमघामस्थलका रूपमा लिइएको छ। 

    तालको मनमोहक सुन्दर दृश्यावलोकन गर्न पटकपटक एउटै व्यक्ति पनि आइरहने र रामपुरमा कोही नयाँ व्यक्ति आयो भने यहाँ घुम्न लिएर आउने राम्रो संस्कारको विकास भएको डुंगा चालक दिपेन्द्र भट्टराईले बताए।

    ताल करिब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ। समितिको नाममा ताल र पार्कसहित करिब ७५ रोपनी जग्गा छ। पार्कमा पूर्वाधार विकास गर्नुपर्ने आन्तरिक पर्यटक तथा स्थानीयको सुझाव छ। समितिले पार्कमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनाएको छ। तालका रुपमा विकास गर्न श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर विसं २०६६ बाट पूर्वाधार विकासको काम सुरू गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार