Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

मानुङकोटमा फेरि बढ्यो भिड

मानुङकोटमा फेरि बढ्यो भिड

आर्थिक पत्र
आइतवार, कार्तिक २० २०७९
  • तनहुँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको भिड बढ्दै गएको छ।

    images

    शनिबार पाँच हजार बढी पर्यटक मानुङकोट पुगेका थिए। दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन्।

    मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो। शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए।

    ‘यस वर्षको सबैभन्दा बढी भीड शनिबार भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ’, उनले भने, ‘आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो।’

    व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याएको बताए।

    ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ। हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्‍यौँ,’ उनले भने।

    केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन्। होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताए।

    चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन्। चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ। घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ। अनि दमौली बजार छर्लङ्ग देखिन्छ। साथमै देखिन्छ सुन्दर हिमशृङ्खला।

    पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए।

    मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ छ। मानुङकोटबाट धवलागिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ।गत वर्ष पनि मानुङकोटमा पर्यटकको भिड थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार