काठमाडौं । मौलाकाली केवलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैंडाकोट १ मा निर्माण सम्पन्न केवलकार गत वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी गराएको छ ।
आइएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैंडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । केवलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ । केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ ।
केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरेन्ट सञ्चालनमा रहने छन् । केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जनाएको छ । नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ । आइएमई ग्रुपको मुख्य लगानी रहेको केवलकारसहितको नयाँ पर्यटकीय गन्तब्य काठमाडौंको चन्द्रागिरीमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ ।
त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रा.लिद्वारा प्रवर्द्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आइएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

