Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पर्यटकलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

पर्यटकलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

आर्थिक पत्र
शुक्रवार, जेठ १२ २०८०
  • काठमाडौँ । नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीच बिहीबार छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको सो छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताए ।

    कार्यक्रममा इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद अलीले नेपाली ट्राभल एजेन्सीलाई जानकारीमूलक भ्रमणमा स्वागत गर्न प्राधिकरण इच्छुक रहेको बताए । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपाल र इजिप्ट सांस्कृतिक र प्राकृतिक वैभवले सुशोभित प्राचीन सभ्यताबाहक मुलुक भएका कारण दुई देशबीच पर्यटन क्षेत्रको साझेदारीका लागि प्रशस्त सम्भावना रहेको बताए ।

    सो छलफलमा उहाँले पर्यटन विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहने भएकाले दुवै देशका ट्राभल र टुर अपरेटरबीच निरन्तर सम्वाद र सहकार्यका लागि मञ्च उपलब्ध होस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । 

    सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुनिल शर्मा तथा नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टसका महासचिव कुमारमणि थपलियाले नेपालको पर्यटकीय सम्पदा र नेपाल–इजिप्ट पर्यटन सम्भावनाका बारे छुट्टाछुट्टै प्रस्तुति गरेका थिए । उक्त वेबिनारमा नेपाल र इजिप्टका २० भन्दा बढी ट्राभल टुर कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    इजिप्टमा आयोजना हुने नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रममा त्यहाँका नागरिकको उल्लेख्य सहभागिता हुने गरेको छ । गत हप्ता इजिप्टको एउटा विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा सो विश्वविद्यालयमा अध्ययनरत सयौँ विद्यार्थीले नेपाली दूतावासको कक्षको अवलोकन गरी नेपालको परम्परागत कला, संस्कृति तथा प्राकृतिक विविधताबारे जानकारी लिँदै प्रदर्शनमा रहेका विभिन्न वस्तु अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

    विशेषगरी खुकुरी र सिङ्गिङ बाउलप्रति इजिप्टका धेरै युवा आकर्षित हुने गरेको पाइएको छ । खुकुरीको इतिहास एवम् प्रयोगबारे जानकारी लिने तथा सिङ्गिङ बाउलको अवलोकन र प्रयोगात्मक अभ्यास गरी नेपालको आध्यात्मिक सम्पदासँग साक्षात्कार गर्न धेरै सहभागी इच्छुक रहने गरेको पाइएको छ ।

    तीन वर्षदेखि कायरोमा शेफका रुपमा कार्यरत राजु चालिसे इजिप्टका नागरिकले नेपाली कला संस्कृतिप्रति देखाउने सद्भाव तथा उनीहरु नेपालको प्राकृतिक सम्पदाप्रति आकर्षित भएको देख्दा आफूलाई खुसी लाग्ने गरेको बताउछन् । नेपालको भ्रमण गरेर फर्केका  इजिप्टका नागरिकले नेपालका रमणीय प्राकृतिक छटाका साथै मौलिक नेपाली खानाबाट प्रभावित भएको अनुभव सुनाएका उनले बताए  ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार