Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लक्ष्मीपूजाको दिन विद्युत‍्को माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारततर्फ निर्यात

लक्ष्मीपूजाको दिन विद्युत‍्को माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारततर्फ निर्यात

आर्थिक पत्र
सोमवार, कार्तिक २७ २०८०
  • काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको  विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । 

    नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो । 

    तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । 

    लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो । 

    यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ  । गत वर्ष ३४२ मेगावाट थियो । 

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित चाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए । 

    कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएका बताए ।  गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उनले उल्लेख गरे । 

    जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत् उत्पादन क्षमता भएता पनि प्राधिकरणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो । 

    प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ९९७  मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार