Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्वीकृत भयो सामाजिक सुरक्षा कोषको सापटी निर्देशिका

स्वीकृत भयो सामाजिक सुरक्षा कोषको सापटी निर्देशिका

आर्थिक पत्र
सोमवार, श्रावण २ २०७९
  • काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित 'योगदानकर्ता सापटी निर्देशिका २०७९' स्वीकृत भएको छ। निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वीकृत गरेका हुन्। 

    योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्था बमोजिम उक्त निर्देशिका तयार पारिएको हो।

    उक्त निर्देशिकामा 'योगदानकर्ता घर सापटी' अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ। कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधिका आधारमा अवकाश हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिनेछ।

    घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने रकम स्वीकृत हुनेछ। त्यसका लागि तीन प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी दिइने श्रम मन्त्रालयले बताएको छ। जसमा पहिलो विधिअनुसार, धितोका आधारमा ७५ लाख रुपैयाँसम्म सापटी दिइनेछ। दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब बराबर सापटी दिइने कोषले बताएको छ। तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलब बरारबर रकम दिइने उल्लेख गरिएको छ। 

    निर्देशिकाले योगदानकर्ता शैक्षिक सापटीको व्यवस्था पनि गरेको छ। कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकास हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ।

    त्यस्तो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि प्रदान गर्न सकिने उल्लेख छ। त्यस्तो रकम ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने छ।

    विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, होस्टेल वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामाग्री खर्च, ट्राभल तथा बीमा खर्च पाइने छ। 

    योगदानकर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा कोषले पुनः प्रदान गर्ने व्यवस्था निर्देशिकामा छ। 

    कोषले यही साउनदेखि सामाजिक सुरक्षा कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्ने कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार