Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजदेखि देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई ‘एचपीभी’ खोप दिइदै

आजदेखि देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई ‘एचपीभी’ खोप दिइदै

आर्थिक पत्र
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको हो ।

    नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

    यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबै जना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरेका छन् ।

    स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिएको छ । त्यसै गरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

    चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ ।

    पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकारात्मक असर नदेखिएको दाबी गरिएको छ ।
    नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार १६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।

    खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने भएपनि ती असर केही दिनमा आफैँ निको भएर जाने बताइएको छ । 

    राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३/७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक-एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसै गरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ ।

    सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०-७०-९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार