Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

आर्थिक पत्र
सोमवार, कार्तिक १० २०८३
  • वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार जर्जिया राज्यमा आयोजित चुनावी सभामा उक्त लगानीको घोषणा गरेका हुन् ।

    images

    ट्रम्पका अनुसार जर्जियाको मेकोन सहरनजिकै निर्माण हुने कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । उहाँले कारखानाको निर्माण अर्को महिनादेखि सुरु हुने बताएका थिए ।

    तर, फोक्सवागन समूहअन्तर्गतको अउडीले जारी गरेको विज्ञप्तिमा कारखानाको निर्माण आगामी वर्ष सुरु हुने र सन् २०३० को दशकको सुरुतिर उत्पादन थालिने उल्लेख छ ।

    कम्पनीका अनुसार प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुनेछन् । अउडीले यो लगानीले अमेरिकाप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ । साथै, युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधार बनाउने लक्ष्य राखेको छ ।

    अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि ट्रम्पले अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गरेका हुन् ।

    यसैबीच, फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ कार उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा मागमा देखिएको अस्थिरतालगायत चुनौतीको सामना गरिरहेको छ ।

    समूहअन्तर्गतका १० ब्रान्डमा विशेषगरी फोक्सवागन, अउडी र पोर्शमा करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ ।

    लागत घटाउने प्रयासस्वरूप विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार