Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विश्व दुग्ध दिवसमा डेरी क्षेत्रको चिन्ता : दैनिक ७६ लाख लिटर दूध उत्पादन, आधा मात्रै बजारमा

विश्व दुग्ध दिवसमा डेरी क्षेत्रको चिन्ता : दैनिक ७६ लाख लिटर दूध उत्पादन, आधा मात्रै बजारमा

आर्थिक पत्र
मंगलवार, जेठ १२ २०८३
  • पोखरा । नेपाल डेरी एसोसिएसनले विश्व दुग्ध दिवस २०२६ को अवसरमा सप्ताहव्यापी कार्यक्रम घोषणा गर्दै दुग्ध क्षेत्रको दिगो विकास, किसान संरक्षण र उपभोक्तासम्म गुणस्तरीय दुग्धजन्य पदार्थ पुर्‍याउने अभियानलाई तीव्र बनाउने जनाएको छ ।

    पोखरामा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले नेपालमा दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने भए पनि त्यसको आधा मात्र बजारसम्म पुग्ने अवस्था रहेको उल्लेख गर्दै दुग्ध क्षेत्र संरचनागत चुनौतीबाट गुज्रिरहेको जनाएको हो ।

    गण्डकी प्रदेश अध्यक्ष प्रवीण कंडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको प्रमुख आधार भए पनि बजार, नीति र व्यवस्थापनका समस्याले किसान र उद्योगी दुवै दबाबमा परेको बताए ।

    उनका अनुसार निजी डेरी क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी रहेको छ भने ६ लाखभन्दा बढी कृषक परिवार प्रत्यक्ष रूपमा यस क्षेत्रमा आश्रित छन् । दुग्ध क्षेत्रले ग्रामीण रोजगारी, महिला सशक्तीकरण, पोषण सुरक्षा र गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उनले बताए ।

    कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष हरिप्रसाद पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका महासचिव रामप्रसाद आचार्य, एसोसिएसनका सचिव शिवहरी आचार्य, सहसचिव रमेश सन्जेल, केन्द्रीय सदस्य राम बराल तथा कास्की जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष नवराज बडाललगायतको उपस्थिति थियो ।

    एसोसिएसनका अनुसार वि.सं. २०५५ मा स्थापना भएको संस्था अहिले २८औँ वर्षमा प्रवेश गरेको छ । देशका २५ जिल्लामा फैलिएका करिब ३०० डेरी उद्योग संस्था आबद्ध छन् ।

    संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि विश्व दुग्ध दिवस मनाउन थालेको हो । हरेक वर्ष जुन १ मा मनाइने यो दिवस यस वर्ष विश्वभर २६औँ पटक मनाइँदैछ ।

    यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सेलिब्रेटिङ वुमेन फार्मर्स’ अर्थात् ‘महिला कृषकहरूको सम्मान’ तय गरिएको छ भने नेपालमा ‘दुग्ध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने राष्ट्रिय नारासहित कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    एसोसिएसनले जेठ १२ देखि १८ गतेसम्म देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जसअन्तर्गत पोखरामा प्रेस मिट, काठमाडौंमा विद्यालयस्तरीय कविता प्रतियोगिता, काभ्रेपलाञ्चोकमा उपभोक्ता सचेतना कार्यक्रम तथा सातै प्रदेशमा दुग्ध प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिनेछन् ।

    मुख्य समारोह भने जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा हुने जनाइएको छ ।

    यसैबीच, जेठ १३ गते काठमाडौं इङ्गलिस स्कुल, नक्सालमा विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरिने भएको छ । महिला कृषकहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै युवापुस्तामा सिर्जनशीलता र साहित्यिक चेतना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    एसोसिएसनले दुग्ध क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र, सहकारी संस्था र किसानबीच थप समन्वय आवश्यक रहेको उल्लेख गर्दै विश्व दुग्ध दिवस सफल बनाउन सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार