Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दुग्ध क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ : मन्त्री चौधरी

दुग्ध क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ : मन्त्री चौधरी

आर्थिक पत्र
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सकिने बताएकी छन् ।

    ‘दिगो दुग्ध विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित आयोजित विश्व दूध दिवस २०८३ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्र पोषण, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिन् ।

    उनले दूधमा आधारित व्यवसाय अधिकांश कृषक परिवारको आयआर्जनको प्रमुख स्रोत बनेको बताउँदै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि चलायमान बनाउन यस क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको धारणा राखिन् ।

    मन्त्री चौधरीका अनुसार हाल ग्रामीण क्षेत्रबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध संकलन हुने गरेको छ, जसबाट दैनिक करिब साढे सात करोड रुपैयाँ बराबरको नगद प्रवाह भइरहेको छ । यसले साना किसान, महिला, युवा तथा सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको उनको भनाइ थियो ।

    “दुग्ध क्षेत्र केवल आयआर्जनको माध्यम मात्र होइन, खाद्य तथा पोषण सुरक्षाको पनि महत्वपूर्ण आधार हो,” उनले भनिन्, “घरायसी रूपमा उपभोग हुने दूध, दही, घिउ, मोही, पनिरलगायत दुग्धजन्य पदार्थले पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।”

    दुग्ध क्षेत्रका आफ्नै विशिष्ट सम्भावना रहेको उल्लेख गर्दै उनले व्यावसायिक पशुपालन विस्तार र उत्पादकत्व वृद्धि गर्न सके यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा अझ ठूलो योगदान दिन सक्ने बताइन् ।

    मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहका सरकार, कृषक, निजी क्षेत्र तथा विकास साझेदार संस्थाबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइन् । उनका अनुसार उत्पादनदेखि बजारीकरणसम्मको श्रृंखलालाई सुदृढ बनाउन नीतिगत तथा संस्थागत सहयोग अपरिहार्य छ ।

    दुग्ध क्षेत्रको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र बजार विस्तारमार्फत ग्रामीण अर्थतन्त्रलाई थप सशक्त बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको उनले बताइन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार