Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हिमाल डेन्टल हस्पिटलको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

हिमाल डेन्टल हस्पिटलको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

आर्थिक पत्र
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं। हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सार्वजनिक निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेड लाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।

    आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद प्रसाईं तथा डा. निरञ्जन आचार्य लगायतको उपस्थिति थियो।

    सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले हाल काठमाडौंका धुम्बाराही, चाबहिल, कमलादी र साँखु गरी चार स्थानबाट दन्त तथा मुख स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

    अस्पतालले बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार रुट क्यानल उपचार (RCT), ओरल तथा म्याक्सिलोफेसियल सर्जरी, कम्युनिटी डेन्टिस्ट्री, पेरियोडोन्टिक्स, प्रोस्थोडोन्टिक्स, म्याक्सिलोफेसियल प्रोस्थेसिस, अर्थोडोन्टिक्स, डेन्टोफेसियल अर्थोपेडिक्स, पेडोडोन्टिक्स, कन्जर्भेटिभ डेन्टिस्ट्री तथा एन्डोडोन्टिक्सलगायतका विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

    अस्पतालमा डेन्टल इम्प्लान्ट, अत्याधुनिक अपरेशन थिएटर (OT), 3D CBCT एक्स–रे, मिलिङ मेसिन, लेजर डेन्टिस्ट्री तथा अन्य आधुनिक प्रविधिमा आधारित सेवा सञ्चालनमा छन्। बिरामीको सहजताका लागि एम्बुलेन्स सेवा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवाको संयोजनमार्फत एउटै संस्थाबाट दन्त उपचार, परीक्षण, शल्यक्रिया, पुनःस्थापना तथा सौन्दर्यसम्बन्धी सेवा प्रदान गर्ने लक्ष्यसहित सेवा विस्तार गरिएको हो।

    दन्त स्वास्थ्य सेवासँगै कम्पनीले प्राविधिक शिक्षा क्षेत्रमा पनि लगानी गर्दै आएको छ। हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन प्राप्त संस्था हो। सन् २००८ मा स्थापना भएको उक्त संस्थाले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित दन्त शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल संस्थाले आफ्नो १९औँ ब्याच सञ्चालन गरिरहेको जनाएको छ।

    कम्पनीले आगामी दिनमा स्वास्थ्य सेवा र शैक्षिक पूर्वाधार दुवै विस्तार गर्ने रणनीति लिएको जनाएको छ। यसअन्तर्गत गैरआवासीय नेपाली (NRN) तथा विदेशी बिरामीलाई लक्षित डेन्टल टुरिज्म प्रवर्द्धन गर्ने, सम्पूर्ण सेवा प्रणालीलाई डिजिटल बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणाली लागू गर्ने तथा संस्थागत संरचनालाई थप सुदृढ बनाउने योजना रहेको छ।

    त्यसैगरी धुम्बाराहीस्थित परिसरमा थप भवन निर्माण गरी BDS, BPH, डेन्टल ल्याब टेक्निसियन, PCL नर्सिङ, ल्याब टेक्निसियन र PCL फार्मेसी कार्यक्रम सञ्चालन गर्ने तयारी कम्पनीको छ। शाखा तथा फ्रेन्चाइज मोडलमार्फत देशभर सेवा विस्तार गर्ने, अत्याधुनिक उपकरण थप्ने तथा विशेषगरी ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई पनि प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

    कम्पनीले स्वास्थ्य सेवा र प्राविधिक शिक्षालाई सँगसँगै अघि बढाउँदै नेपालमा गुणस्तरीय दन्त स्वास्थ्य सेवा विस्तार तथा दक्ष जनशक्ति उत्पादनमार्फत दन्त स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार