काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा उद्यमशीलताको विकास, लगानी पहुँच विस्तार र रोजगारी सिर्जनालाई सहयोग गर्ने उद्देश्यसहित ‘के–कनेक्ट : नेपालमा उद्यमशीलताको इकोसिस्टमको प्रवर्द्धन’ कार्यक्रम आयोजना गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा उद्यमी, वित्तीय संस्था, लगानीकर्ता, सरकारी निकाय, परामर्शदाता तथा विकास साझेदारलाई एउटै सञ्जालमा जोड्ने प्रयास गरिएको हो। कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते–याङको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई ज्ञान, सञ्जाल र वित्तीय पहुँच विस्तार गर्न सहयोग गर्नुका साथै नवीनता, साझा सिकाइ, दिगो व्यापार वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक वातावरण तयार गर्नु रहेको कोइकाले जनाएको छ।
कार्यक्रममा कोइकाको सहयोगमा सञ्चालन भएका तीन परियोजनाबाट प्राप्त उपलब्धि पनि प्रस्तुत गरिएको थियो।
कोइकाको ‘के–हामी’ परियोजनाअन्तर्गत कोरियाबाट फर्किएका १५ हजारभन्दा बढी आप्रवासी कामदारले प्राविधिक तालिम, पुनःएकीकरण तथा वित्तीय साक्षरता तालिम प्राप्त गरेका छन्। त्यस्तै, १९५ जनाले विशेष उद्यमशीलता तालिम पूरा गरेका छन्।
कोरियाबाट फर्किएका आप्रवासीलाई उद्यम सञ्चालनका लागि ऋण पहुँच सहज बनाउन कोइकाले २५ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ। यस कार्यक्रमबाट करिब ३०० जना लाभान्वित हुने अपेक्षा गरिएको छ।
त्यस्तै, जलवायुमैत्री कृषि परियोजनाले तराईका बाढी प्रभावित क्षेत्रमा १०९ वटा जलवायुमैत्री कृषि व्यवसाय स्थापना गरेको छ। परियोजनामार्फत ५ हजार ३०० भन्दा बढी लाभग्राहीलाई उद्यमशीलता अनुदान र तालिम प्रदान गरिएको छ भने ३४३ वटा हरित रोजगारी सिर्जना भएको कोइकाले जनाएको छ।
यस परियोजनाका लागि तराई एग्रि बिजनेस एन्ड इन्टरप्राइज च्यालेन्ज फन्ड सञ्चालन गर्न कोइकाले १५ लाख अमेरिकी डलर सहयोग गरेको छ।
पोखरामा सञ्चालन गरिएको ‘रिसाइकल र अपसाइकलमार्फत हरित रोजगारी सिर्जना’ परियोजनाले पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यस परियोजनाअन्तर्गत ११५ वटा रिसाइकल तथा अपसाइकल उद्यम विकास भएका छन्।
परियोजनाले फोहोर व्यवस्थापनसम्बन्धी करिब ११ हजार परिवारलाई तालिम दिएको छ भने १ हजार ३०० भन्दा बढी व्यक्तिलाई उद्यमशीलता तालिम प्रदान गरेको छ।
नेपालका लागि कोरियाका राजदूत पार्क ते–याङले कोइकाको पहलको प्रशंसा गर्दै कोरियाको विकास यात्रामा मानिसमा लगानी, संस्थागत सुदृढीकरण र उद्यमशीलता प्रवर्द्धन महत्वपूर्ण आधार रहेको बताए।
उनले उद्यमशीलता र निजी क्षेत्रको विकासमार्फत दिगो आर्थिक वृद्धिका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे।
कोइका नेपालका निर्देशक मुहून कोङले नेपालमा उद्यमशीलताको विकास, सीप अभिवृद्धि र वित्तीय पहुँच विस्तारमा कोइकाको दीर्घकालीन प्रतिबद्धता रहेको बताए।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नवराज ढकाल र युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङले नेपालमा रोजगारी सिर्जना, सीप विकास र उद्यम प्रवर्द्धनको आवश्यकता औँल्याउँदै कोरियाली सरकारको सहयोगको प्रशंसा गरे।
कोइकाकी उपनिर्देशक सुजिन येओले ‘के–कनेक्ट’ ले उद्यमी, वित्तीय संस्था, लगानीकर्ता, परामर्शदाता, सरकारी निकाय र विकास साझेदारबीच सहकार्यको पुल निर्माण गर्ने उद्देश्य राखेको बताइन्।
कार्यक्रममा उद्यमीका सफलताका कथा, बैंक तथा निजी क्षेत्रसँग व्यापारिक प्रस्तुतीकरण, लगानीकर्ता र उद्यमीबीच प्रत्यक्ष परामर्श तथा सञ्जाल विस्तारका कार्यक्रम सञ्चालन गरिएको थियो।
सन् १९९१ देखि कोरिया सरकारले कोइकामार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, व्यावसायिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ।
कोइकाले हालसम्म नेपाललाई २३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराइसकेको जनाएको छ। संस्थाले नेपालका दिगो विकास लक्ष्य हासिल गर्न व्यवसाय, नागरिक समाज, विश्वविद्यालय र विकास साझेदारसँग सहकार्य गर्दै आएको छ।

