Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ओमान बजारमा ‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न सम्झौता

ओमान बजारमा ‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न सम्झौता

आर्थिक पत्र
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानको बजारमा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ नेपाल (फिन) र गैरआवासीय नेपाली सोसल क्लब ओमानबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    मस्कटमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा ओमानका लागि नेपाली कार्यवाहक राजदूत विशेष कुमार साहको पनि उपस्थिति थियो।

    समझदारीअनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुने महासंघका उपाध्यक्ष किरणकुमार डंगोलले बताए।

    समझदारीमा **‘मेड इन नेपाल’ उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता** दिइएको छ। ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची तथा विभिन्न मसला, हस्तकला, फेल्ट, गार्मेन्ट, कार्पेट, जडीबुटीजन्य सामग्री तथा परम्परागत पोशाकलगायत नेपाली उत्पादनको प्रवर्द्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिनेछ।

    त्यस्तै, ओमानको भन्सार प्रक्रिया, आयातसम्बन्धी मापदण्ड, गुणस्तर तथा हलाल प्रमाणीकरण र व्यापारिक नीतिबारे गैरआवासीय नेपाली सोसल क्लबले महासंघलाई आवश्यक जानकारी तथा मार्गदर्शन उपलब्ध गराउनेछ।

    महासंघले ओमानका आयातकर्तालाई नेपालका भरपर्दा निर्यातकर्ताको सूची तथा उनीहरूले उत्पादन गर्ने वस्तुको विवरण उपलब्ध गराउने समझदारीसमेत भएको जनाएको छ।

    समझदारीले नेपालका उत्पादक तथा ओमानमा रहेका नेपाली व्यवसायी एवं आयातकर्ताबीच प्रत्यक्ष सम्पर्क विस्तार गरी अनावश्यक बिचौलिया लागत घटाउने लक्ष्यसमेत राखेको छ। यसबाट नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्नुका साथै उत्पादकले आफ्ना वस्तुको उचित बजार मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताए।

    यसैगरी, नेपालको प्रशोधन, उत्पादन तथा निर्यातजन्य उद्योगमा गैरआवासीय नेपाली तथा ओमानी लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्ने र आवश्यक मार्गदर्शन उपलब्ध गराउने विषय पनि समझदारीमा समेटिएको छ। ओमान भ्रमणमा रहेको नेपाली टोली शुक्रबार राति नेपाल फर्किएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार