काठमाडौँ। सरकारले व्यक्तिगत लगानीकर्ताले सेयर कारोबारबाट प्राप्त गर्ने लाभमा लाग्ने पुँजीगत लाभकर घटाएको व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरेसँगै नेप्से परिसूचक ७.०६ अंकले बढेको छ। मंगलबार नेप्से २ हजार ६५४.२८ विन्दुमा पुगेको हो।
साताको पहिलो कारोबार दिन बजारमा कारोबार रकमसमेत बढेको छ। मंगलबार ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार कित्ता सेयर ७० हजार ६९१ पटकको कारोबारमा किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.७१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले बढेका छन्। बजारमा १३७ कम्पनीको सेयरमूल्य बढ्दा १३१ कम्पनीको घटेको छ।
कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४० करोड ३६ लाख रुपैयाँ र घलेम्दी हाइड्रोको २२ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।
यस दिन मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयरमूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेपछि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.७५ प्रतिशत र मैलुङखोला जलविद्युतको ५.६३ प्रतिशत बढेको छ। स्नो रिभर्सको सेयरमूल्य भने ८.२३ प्रतिशत घटेको छ।
मंगलबार १३ उपसमूहमध्ये सातको परिसूचक बढेको छ भने छवटाको घटेको छ। अन्य उपसमूहको परिसूचक १.३६ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूह पनि बढेका छन्।
राजपत्रमा नयाँ पुँजीगत लाभकर
यसैबीच सरकारले व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने लाभमा लाग्ने पुँजीगत लाभकर घटाएको व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रमा नयाँ करदर प्रकाशित भएसँगै घटाइएको करदर कार्यान्वयन गर्ने कानुनी आधार स्पष्ट भएको छ।
अर्थ मन्त्रालयका अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निःसर्गबाट बासिन्दा प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा सेयर स्वामित्व अवधिका आधारमा फरक दरले पुँजीगत लाभकर लाग्नेछ।
नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी अवधि सेयर स्वामित्वमा राखेर बिक्री गर्दा प्राप्त लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि राखेर बिक्री गर्दा प्राप्त लाभमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ।
बिक्री रकममा होइन, लाभमा कर
नयाँ करदर व्यक्तिगत लगानीकर्ताका लागि लागू हुनेछ। सूचीकृत संस्थाको सेयर बिक्रीबाट लाभ प्राप्त गर्ने बासिन्दा प्राकृतिक व्यक्तिका लागि तोकिएको दर भएकाले संस्थागत लगानीकर्ता वा कम्पनीको नाममा हुने कारोबारको करदर पनि घटेको अर्थमा लिन नमिल्ने व्यवस्था छ।
पुँजीगत लाभकर सेयर बिक्रीबाट प्राप्त कुल रकममा नभई वास्तविक लाभ रकममा लाग्नेछ। सेयर खरिद गर्दा लागेको लागत र बिक्रीबाट प्राप्त रकमबीचको लाभमा सम्बन्धित दरअनुसार कर लाग्नेछ।
आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी करका नयाँ दर कायम गरिएको अर्थ मन्त्रालयको सूचनामा उल्लेख छ। आयकर ऐन, २०५८ को दफा ९५ क तथा अनुसूची–१ मा रहेको व्यवस्थाअनुसार करका दर संशोधन गरिएको हो।
राजपत्रमा सूचना प्रकाशित भएसँगै अब व्यक्तिगत लगानीकर्ताले सेयर बिक्री गर्दा आफ्नो स्वामित्व अवधि हेरेर ३.७५ प्रतिशत वा ५ प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था औपचारिक रूपमा स्पष्ट भएको छ।


