काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल भएको विवरण सार्वजनिक गरेको छ।
नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो। पहिलो त्रैमासिक अवधिमा रु ६२ करोड ७४ लाख खर्च गर्ने लक्ष्य रहेकामा १४ करोड ७० लाख खर्च भएको छ। यो त्रैमासिक बजेटको २३ दशमलव चार प्रतिशत हो।
महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण तथा एक हेक्टर जग्गा उकास गरिएको छ। सो अवधिमा खर्चको तुलनामा भौतिक प्रगति भने बढी देखिएको छ।
केही आयोजनाले त्रैमासिक भौतिक लक्ष्यभन्दा उल्लेखनीय प्रगति हासिल गरेका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन)ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव आठ प्रतिशत प्रगति गरेको महाशाखाका प्रमुख थापाले जानकारी दिए। उनका अनुसार समग्रमा पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति भएको हो।
त्यस्तै, टार-बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति हासिल गरेको छ। लमही (दाङ)ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर (धनुषा) ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति गरेको महाशाखाले जनाएको छ।
नदी नियन्त्रण, तटबन्ध निर्माण तथा जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि महाशाखाले विभिन्न आयोजना सञ्चालन गर्दै आएको जानाइएको छ।


