काठमाडौ । विश्वका २ ठूला क्रिप्टो एक्सचेन्ज बाइनान्स र एफटीएक्स एकआपसमा गाभिने भएका छन् । बाइनान्सका प्रमुख कार्यकारी अधिकृतले तरलता संकटलाई समाधान गर्ने उद्देश्यका साथ एक बाध्यकारी सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले प्रयोगकर्ताको सुरक्षाका लागि आफूले एफटीएक्सलाई गाभ्न लागेको बताएका हुन । बाइनान्स र एफटीएक्सको यस कदमको प्रतिक्रियास्वरुपः विश्वव्यापी क्रिप्टो बजार अस्थिर बनेको छ ।
तरलता संकट भनेर मर्जर सहमत भएपछि क्रिप्टोकरेन्सी बजार मंगलबार र बुधबार खस्किएको छ । विश्वको सबैभन्दा ठूलो र सबैभन्दा लोकप्रिय भर्चुअल मुद्रा बिटक्वाइन मंगलबार १०% ले घटेर १८ हजार ५५० डलरमा कारोबार बन्द भएको थियो । बुधबार पनि १८ हजार ३०० को बिन्दुमा कारोबार भइरहेको छ । त्यस्तै, दोस्रो ठूलो भर्चुअल मुद्रा इथरियम मंगलबार १४.८८% ले घटेर १३ सय ३४ डलरमा बन्द भयो ।
आज भने १३ सय डलरमा खरिदबिक्री भइरहेको छ। यता, डोजक्वाइनको भाउ पनि मंगलबार २०% ले घटेको थियो । सोलानाको पनि मूल्य १८% भन्दा धेरैले घटेको छ । यिनीहरुको मूल्यसँगै बजार पुँजीकरण पनि अर्बौ डलरले घटेको छ । लगानीकर्ताहरू पनि बढ्दो ब्याजदरको बीचमा जोखिमपूर्ण मानिने सम्पत्तिहरूबाट बाहिरिन थालेका छन् । जसका यिनीहरुको मूल्यमा तीव्र गिरावट देखिएको छ ।


