काठमाडौं । अमेरिकी प्रविधि कम्पनी ‘एप्पल इंक’ ले सेयर बजारमा नयाँ रेकर्ड कायम गरेको छ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलको सेयर बजार पुँजीकरण बिहीबार एकै दिन १९०.९ अर्ब डलरले बढेको छ । जुन अमेरिकामा सूचीकृत कम्पनीले एकै दिनमा हासिल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि हो । ब्लुमबर्गका अनुसार एप्पलले अर्को अमेरिकी कम्पनी अमेजनले गत फेब्रुअरीमा एकै दिनमा हासिल गरेको १९०.८ अर्ब डलरको वृद्धिलाई पनि पछि पारेको हो ।
अमेरिकामा बिहीबार मुद्रास्फीति सम्बन्धी तथ्यांक अपेक्षा गरिएको भन्दा नरम आएपछि सेयर बजारमा पनि सुधार भएको थियो । यस दिन एप्पलको सेयर भाउमा पनि ८.८% को उछाल आएपछि बजार पुँजीकरणले नयाँ रेकर्ड बनाएको हो । एकै दिनमा १९०.९ अर्ब डलरको वृद्धिपछि एप्पलको बजार पुँजीकरण २३ खर्ब डलर भन्दा बढी पुगेको छ । बिहीबार सेयर भाउमा सुधार आएपनि यस वर्ष समग्रमा एप्पलको सेयर मूल्य १७% तल रहेको छ ।

